भक्तपुर घटना : डिप्रेसनमा थिए सुदीप

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा श्रीमान्, श्रीमती र छोरा मृत भेटिएको घट्नामा प्रहरी अनुसन्धान सुदीप अधिकारीमाथि केन्द्रीत रहेको छ।

अनुसन्धान गरिरहेको प्रहरीले सुदीप नै हत्यारा रहेको शंका गरेको छ। उनको पारिवारिक श्रोतका अनुसार सुदीप केही समयदेखि डिप्रेसनमा थिए।

३६ वर्षीय सुदीप अधिकारीले नै श्रीमती सम्झाना र १५ वर्षीय छोरा सुशान्तको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

श्रीमती सम्झना र छोरा सुशान्तको फोन गत सोमबारदेखि नै सम्पर्कभन्दा बाहिर रहेको पाइएको छ।

दुवै जनाको हत्या कम्तिमा ५ दिन अघि नै गरिएको हुनसक्ने आशंका प्रहरीको छ। सम्झना र सुशान्तले गत सोमबार अन्तिम पटक फोन सम्पर्क गरेको पाइएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

घटना भएको घर चार तलाको छ। दोस्रो, तेस्रो र चौथो तलामा एक एक वटा शव भेटिएको थियो।

सबैभन्दा माथिको तलामा सुदिपको शव भेटिएको थियो भने दोस्रो तलाको बाहिर कुकुर मरेको अवस्थामा भेटिएको थियो।

आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिएको थियो भने श्रीमानको शव एक दुई दिनअघि मात्र मृत्यु भएको जस्तो देखिएको थियो।

घरको कुनै पनि ढोका लगाइएको थिएन।