सलाहको ह्याट्रिकमा लिभरपुल विजयी

एजेन्सी। साविक विजेता लिभरपुल नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै विजयी भएको छ।

शनिबार राति भएको खेलमा मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुलले लिड्स युनाइटेडलाई ४–३ गोलले हराएको हो।

लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफको चौथो मिनेटमै सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको १२औँ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए। खेलको २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे।

खेलको ३०औँ मिनेटमा प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए। लगत्तै सलाहले व्यक्तिगत दोस्रो गोल गरे।

दोस्रो हाफपछि माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काए। खेलको ८८औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा

लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो। पेनाल्टीमा सलाहले सहजै गोल गरेका थिए।

शनिबार नै सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलले हरायो। खेलको १३औं मिनेटमा विलफ्रड जाहाले गरेको गोल नै निर्णायक बन्यो।

शनिबार राति नै सम्पन्न खेलमा न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई २–० गोलले पराजित गर्यो।

त्यसअघि उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३–० गोलले पराजित गरेको थियो।