इंग्ल्याण्ड र अष्ट्रेलिया बीचको दोस्रो एक दिवसीय आज

एजेन्सी। अस्ट्रेलियाले इंग्ल्याण्डसँगको शृंखलाको दोस्रो एक दिवसीय खेल आज खेल्दैछ। नेपाली समयअनुसार ५ः४५ मा म्यान्चेस्टरमा सो खेल सुरु हुनेछ। तीन खेलको शृंखलामा अहिलेसम्म अस्ट्रेलिया अगाडि रहेको छ।

उता विश्वविजेता इंग्ल्याण्ड भने आजको खेल जितेर जसरी पनि शृंखला बचाउने दाउमा रहेको छ। यी दुई टाेलीबीचकाे पहिलो खेल निकै रोमाञ्चक थियो जसमा अस्ट्रेलिया १९ रनले विजयी भएको थियो। दुवै टोलीका लागि आफ्नो ब्याटिङ सुधार्नु पर्ने दबाब रहेको छ।

पहिलो खेलमा रहेको ब्याटिङ पिचमा अस्ट्रेलियाले २९४ रन बनायो तर इंग्ल्याण्डले त्याे लक्ष्य भेटाउन सकेन। कोभिड–१९ ले गर्दा अस्ट्रेलियाले मार्चदेखि ५० ओभरको खेलेको थिएन तर घरेलु टोलीले भने केही समयअघि मात्र आयरल्याण्डसँग खेल खेलेको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

पहिलो खेलमा अस्ट्रेलियाका लागि मिचेल मार्स, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले मात्र उल्लेखनीय ब्याटिङ गर्न सकेका थिए। इंग्ल्याण्डको लागि अर्को घाटा भनेको कुनै पार्ट टाइम बलर नहुनु हो।

इंग्ल्याण्डका पाँच बलरमध्ये जोफ्रा आर्चर र मार्क उडले उत्कृष्ट प्रदर्शन गरे पनि अबको खेलमा भने अर्को बलरको बारेमा पनि सोच्नु पर्नेछ। अर्कोतिर ब्याटिङमा पनि साम बिलिङ्स र जोनी बेर्स्टो बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङमा जस हेजलउड र एडाम जाम्पाले निकै उत्कृष्ट प्रदर्शन गरे जसले गर्दा इंग्ल्याण्डलाई हराउन अस्ट्रेलिया सफल भयो। इंग्ल्याण्डले कुनै पनि खेल हारेपछि अर्को खेलमा त्यहि टोली खेलाउने गर्दैन र आजको खेलमा पनि त्यहि प्रवृत्ति दाेहाेरिएर केही खेलाडीमा परिवर्तन हुने आश गर्न सकिन्छ।