बैतडी कोरोनाका सक्रिय संक्रमित ‘शून्य’ जिल्ला

दिपक महरा, बैतडी। बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शून्य जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शून्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य भएको हो। ३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिए। उनले भने ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन्। अहिलेका लागि सक्रिय संक्रमित शून्य छन्। स्वाब संकलन कार्य अझै पनि जारी छ।’

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु

जिल्लामा अहिले सम्म ४ हजार १२९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ। जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उनले बताए।

तत्कालका लागि कोरोना संक्रमित नरहेपनि स्वास्थ्य सुरक्षा मापदण्ड भने परिपालना गर्न आवश्यक रहेको जोशीले बताए। उनले भने ‘अहिले नै ढुक्क हुने स्थिति छैन। अहिलेसम्म हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएकै कारण समुदायमा कोरोना फैलिन पाएको छैन। अझै पनि सबैले सचेत हुनु आवश्यक छ।’

जिल्लाको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो। अहिले कोरोना पुष्टि भएका सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।