काठमाडौँ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ।
उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्तावले प्रवेश पाएन।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा कुलमानको विषयमा कुरै उठेन। बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले आफ्नो पनि एउटा प्रस्ताव रहेको बताए।
तर ओलीले छलफल बाँकी रहेको भन्दै पुनको कुरा टारे।
कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए। प्रधानमन्त्री ओलीले सो प्रस्तावलाई टेरपुच्छर नै लगाएनन्।
कुलमान ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन्। उनी २०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
प्राधिकरणमा अब प्रमुखका रुपमा को आउने भन्ने टुंगो लाग्न सकेको छैन। कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री ओलीले आनाकानी गर्दै आएका छन्।