लामो दूरीको यातायात असोज १ देखि सञ्चालनको अनुमति

काठमाडौं। लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने गरी लामो दूरीको यातायात बिहीबारदेखि नै सञ्चालनको अनुमति दिएको जानकारी दिए।

संक्रमणको जोखिम बढेको अवस्थामा भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने उनले बताए। बसको एक लहरको सिटमा एक जना मात्र यात्रा गर्न पाउने गरी मापदण्ड तोकिएको छ।

उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै

सीमा नाका भने असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ। सरकारले भारतबाट नेपाल प्रवेश गर्न इलामाको पशुपतिनगर र दार्चुलाका दुई नाका थप खुला गर्ने निर्णय गरेको छ।

यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने सरकारले निर्णय गरेको छ।