ओलम्पियन नयना शाक्य दम्पतिलाई कोरोना

काठमाडौँ।ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट संक्रमित भएकी छिन्।

शाक्यसँगै उनका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट संक्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्।

पहिलो पटक पीसीआर परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफुहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन्।

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान र छोरामा लक्षण देखिएपछि पुनः पीसीआर परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने

हाल तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन्। सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सवैमा आग्रह गरेकी छिन्।

शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन्।