झापामा प्रदेश सांसदकै अगुवाइमा वन फँडानी: सांसद भन्छन्-म त भैंसी चराउन पो गएको!

Prabhu Bank

शम्भु दाहाल, झापा।  झापाका एक प्रदेश सांसदले नै अवैध रूपमा वनको रूख फडानी गरेको खुलासा भएको छ। झापा निर्वाचन क्षेत्र नम्बर २ (ख)का प्रदेशसभा सदस्य बिर्ख प्रधानले शक्तिको आडमा सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वनमा बिना स्वीकृति रुख काटेका हुन्।

Saftey Pads

प्रदेशसभा सदस्य प्रधानले झापाको अर्जुनधारा नगरपालिका ११ स्थित शहिद स्मृति प्रतिष्ठान पार्क परिसरमा रहेको सिसौ जातका ३ वटा रुख बिना अनुमति काटेका बताइएको छ। स्थानीय तीन जना मजदुर खटाएर प्रधानले नै रुख कटाएको संलग्न मजदुर सिद्धिकुमार डाँगीले बताए। उनले भने “बिर्खे दाईले नै हामी तीन जनालाई २ हजार ५ सय रुपैयाँमा काट्ने ठेक्का दिनुभएको हो।”

सांसद प्रधान सोही ठाउँका स्थानीयवासी रहेको र यसअघि पनि पटक–पटक रुख कटान गर्ने गरेको स्थानीयले बताएका छन्। कहिले पोखरी विस्तारको नाम रुख काटेर त कहिले हावाहुरीले ढालेको निहुँमा प्रधानले प्रतिष्ठानको सम्पत्तिमा वगतबाटै हालीमुहाली गर्दै आएकाले यसपाली भने प्रधानको हर्कत सार्वजनिक गर्न आफूहरु बाध्य भएको उनीहरुको भनाई छ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

‘धेरैपटक रूख काटेको देखेँ। अब काट्दैन होला भनेर माफ दिएँ। ठूलो मान्छेले मनपरी गर्दा रहेछन्। काटेको–काट्यै गरेपछि मलाई त रिस उठ्यो, मैले नै डीएफओलाई जानकारी गराएँ,’ स्थानीय जग्गु राजवंशीले भने, ‘मैले भनेको थाहा पाएछ, बिर्खे दाइ (सांसद बिर्ख प्रधान)ले अझै केही भन्न बाँकी छ कि भन्दै थिए। डराएर त जंगल सक्छन्। त्यसैले डीएफओलाई भनिदिएँ।’

प्रतिष्ठान यसो भन्छ

सांसद प्रधान र उनका छोरा भुवनले सहिद वन बाटिकाबाट सिसौका रूख काटेको प्रतिष्ठानले पनि जनाएको छ। ‘वन पैदावरको अधिकार डिभिजन वन कार्यालयको हो। माननीयज्यूको छोराले दाउरा मागिरहनुभएको थियो,’ प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले भने, ‘प्रतिष्ठान व्यवस्थापन समितिमा पनि कुरा लगिएको थिएन। स्वीकृतिविना रूख काटिएका हुन्।’

यता सांसद प्रधानले बिना अनुमति रुख काटेको थाहा पाएपछी डिभिजन वन कार्यालय झापाले ढालिएका रुख सो ठाउँबाट उठाउन रोकेको जनाएको छ। कार्यालयले सांसद प्रधानले कतैबाट अनुमति नलिई रुख काटेकाले छानबिन शुरु गरेको भने पनि रुख काटेको ५ दिन बितिसक्दा पनि के के छानबिन भयो भन्ने सार्वजनिक भएको छैन।

म त भैंसी चराउन गएको थिएँ: सांसद

सांसद प्रधानले भने आफूलाई फसाउन विरोधीहरुले नभएको आरोप लगाएको भन्दै उम्किने प्रयास गरेका छन्। उनले भैँसी चराउन प्रतिष्ठानमा गएको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका छन्।

अन्य सम्बन्धित समाचार:  झापामा कोरोनाबाट एकै दिन तीनको मृत्यु

‘वन मेरो घरछेउमै पर्छ। छोराले मागेर काटेको रहेछ। रूख भएको ठाउँमा वाल पनि थियो। वाललाई असर नपारी काट है भन्न म गएको थिएँ। म भैँसी चराउन गएको थिएँ,’ सांसद प्रधानले भने।

सांसद प्रधान विगत २ कार्यकालसम्म प्रतिष्ठानको अध्यक्ष समेत रहेका थिए। तर, उनी प्रदेशमा निर्वाचित भएयता उनले सो पद त्यागेका छन् भने पदमा नरहे पनि छोरा भुवन प्रधानलाई प्रतिष्ठानको कर्मचारीका रुपमा राखेका छन्।

Maruti Cement