बैतडीसहित सुदूरका नौ खेलाडी क्यानको वर्गीकरणमा: खेलाडीमा उत्साह

Prabhu Bank

दिपक महरा, बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ जना खेलाडी नेपाल क्रिकेट संघ क्यानले सन् २०२० को लागि गरेको नयाँ केन्द्रीय सम्झौताको वर्गीकरणमा परेका छन्। चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले गरेको वर्गीकरणमा देशरभरीका १८ पुरुष र १९ महिला गरि ३९ खेलाडीलाइ वर्गीकरणमा राखेको हो। उनीहरुलाई क्रिकेट संघले मासिक तलब दिने छ।

Saftey Pads

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ मा देशभरिका ८ जना, ‘बी’ मा ४ र ‘सी’ मा ६ जना खेलाडीलाई राखेको छ भने महिलातर्फ ग्रेड ‘ए’ मा ५, ‘बी’ मा ८ र ‘सी’ मा ६ खेलाडीलाई छनौट गरेको छ। त्यसमध्ये विभिन्न ग्रेडमा गरी सुदूरपश्चिमका पुरुषतर्फ ३ र महिलातर्फ ६ जना खेलाडी परेका हुन्।

ग्रेड ‘ए’ मा कञ्चनपुरका दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन्। बैतडीका कमलसिंह ऐरी ग्रेड ‘सी’ मा परेका छन्। दीपेन्द्र र विनोदले क्यानबाट मासिक ५० हजार रुपैया पारिश्रमिक पाउनेछन् भने कमलले ३० हजार रुपैया पारिश्रमिक पाउने छन्।

यसैगरी महिलातर्फ पनि सुदूरपश्चिमका ६ खेलाडी वर्गीकरणमा परेका छन्। महिलातर्फ ग्रेड ‘ए’ मा भने सुदूरपश्चिमबाट कोही पनि परेका छैनन्। ग्रेड ‘बी’ मा कञ्चनपुरकी बिन्दु रावल र कविता जोशी तथा बैतडीकी रितु कनौजिया परेकी छन्। यसैगरी ग्रेड ‘सी’ मा कैलालीकी कविता कुँवर, सोनु खड्का, कञ्चनपुरकी डोली भट्ट र बैतडीकी अञ्जली चन्द परेकी छन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी

ग्रेड ‘बी’ मा परेका रावल, जोशी र कनौजियाले क्यानबाट मासिक १५ हजार पारिश्रमिक पाउनेछन्। ग्रेड ‘सी’ मा पर्ने कुँवर, खडका, भट्ट र चन्दले मासिक १२ हजार पारिश्रमिक पाउनेछन्।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ मा पर्नेले ४० हजार र ‘सी’ मा पर्नेले ३० हजार पारिश्रमिक पाउनेछन्। यसैगरी महिलातर्फ ग्रेड ‘ए’ मा पर्ने खेलाडीले मासिक १५ हजार, ‘बी’ मा पर्नेले १२ हजार र ‘सी’ मा पर्नेले १० हजार पारिश्रमिक पाउनेछन्।

क्यानले तोकेको पारिश्रमिक खेलाडीहरुले सन् २०२० जनवरीदेखि नै पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। क्रिकेट संघले गरेको वर्गीकरणमा परेका यहाँका खेलाडी उत्साहित भएका छन्।

नेपाली राष्ट्रिय टोलीका उप कप्तान समेत रहेका दीपेन्द्रसिंह ऐरीले आफू ग्रेड ‘ए’ मा परेकोले निकै उत्साहित भएको बताए। उनले भने “क्रिकेट संघले तलब वृद्धिसँगै वर्गीकरण गर्नु म लगायत अरु खेलाडीका लागि पनि राम्रो पक्ष हो, यसले क्रिकेटमै भविष्य खोज्नेहरुका लागि राम्रो सन्देश दिएको छ।”

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल

यस्तै क्रिकेट संघले पहिलोपटक महिला क्रिकेटरको पनि वर्गीकरण गरेको छ। यसले गर्दा यहाँका महिला खेलाडी पनि खुसी भएका छन्। पहिलोपटक महिला क्रिकेटरलाई पनि तलब दिने कुराले निकै खुसी लागेको अञ्जली चन्दले बताइन्।

उनले भनिन्, “क्रिकेट संघले महिलालाई पनि पारिश्रमिक दिने कुरा राम्रो सुरु हो, यसले महिला खेलाडीको हौसला बढेको छ।”

क्रिकेटलाई नै जीवन ठानेर लागेका खेलाडीका लागि तलब तोकिनुले उत्साह जागेको महिला क्रिकेटर रितु कनौजियाको भनाई छ। उनले भनिन्, “क्रिकेट नै जीवन हो भनेर लागेका हामीहरुमा खुसी छाएको छ।”

यस प्रदेशबाट क्यानको वर्गीकरणमा ९ जना पर्नु निकै सुखद पक्ष भएको नेपाल क्रिकेट संघ क्यानका सुदूरपश्चिम प्रदेशका सचिव तेजप्रकाश भट्टको भनाई छ।

Maruti Cement