कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता

इन्दु धामी, कञ्चनपुर। कञ्चनपुर बेलडाँडी गाउँपालिकाका युवराज जोशीले बसमा सहचालकको काम गर्न थालेकाे पाँच वर्ष भयाे। महेन्द्रनगरबाट काठमाडौं चल्ने बसमा सहचालक जोशीको दैनिकी बसमा यात्रु मिलाएर नै बित्थ्यो। तर केही महिना उनी फुर्सदिला भएका छन्। “लकडाउन अघि घरखर्च चलाउन सजिलो थियो, आम्दानी हुन्थ्यो, कोरोनाको महामारीले लकडाउन भएसँगै आर्थिक अवस्था एकदमै कमजोर भयो”, युवराजले भने।

काेराेनाका कारण मुख्यगरी न्यून आय हुने सहचालकहरू लकडाउनको मारमा ज्यादा परेका छन्। लकडाउन खुलेपछि पनि सबैभन्दा समस्यामा उनीहरु नै रहेका छन्। युवराजजस्ता धेरै सहचालकहरू कामको सिलसिलामा काठमाडौँ आँउदा डर नै डरमा आउनु पर्ने बताउँछन्। यात्रुको हेपाइ र प्रहरीको पेलाइको कारण ठूलै सास्ती खेप्नु पर्ने उनीहरूको अनुभव छ।

सरकारले सार्वजनिक यातायातमा सामाजिक दूरी पालना गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेसँगै व्यवसायीले यात्रुको संख्या र दूरीसमेत तोकिएको मापदण्ड अनुसार लागू गर्नुपर्ने नियम रहेको छ। लामो दूरीका सवारीसाधनमा यात्रुको चाप त्यति देखिन्न। एकातिर सार्वजनिक सवारी साधनमा हुने जोखिम अर्कोतर्फ हवाई भाडाकै हाराहारीमा बसभाडा तोकिएपछि यात्रुहरूको संख्या उत्तिसारो नभएको व्यवसायीको गुनासो छ।

यातायात व्यवसायीहरु झन् मारमा

यात्रुहरूको सङ्ख्यामा कमीसँगै बसहरू खाली हुने गरेका छन्। कञ्चनपुरबाट काठमाडौं र सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चल्ने लामो दूरीका प्रायः यातायातको अवस्था सन्तोषजनक नरहेको यातायात व्यवसायीले बताए। झण्डै पाँच महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुलेसँगै व्यवसायीमा छाएको खुसी क्रमशः कम हुँदै गएको छ।

अन्य सम्बन्धित समाचार:  अटो पल्टिँदा चालकको मृत्यु

यससँगै यातायात व्यवसायीले चालक र सहचालकहरूलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्न थालेको छ। कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१६ गौबरियाका दिलिप पन्त विगत तीन वर्षदेखि यातायात व्यवसायमा सामेल थिए। तर पछिल्लो अवस्थाले दिलिपको व्यवसाय चौपट हुँदै गएको छ। दिनमा ५ देखि १० हजार सम्म आम्दानी हुने भए पनि हिजोआज कर्मचारी पाल्न पनि समस्या छ दिलिपलाई।

यातायात व्यवसायकै सहारामा जीवन चलाएका व्यवसायीलाई भने लकडाउन खुले पनि झन् समस्या भएको छ। पछिल्लो एक सातादेखि नै बसपार्कबाट निरन्तर बस छुट्न थालेका छन्। पश्चिमका पहाडमा बस सञ्चालन गरेका कैलालीका करन सिंह साउँदको पनि समस्या उस्तै छ। तीन वर्ष अघि अन्य व्यवसायबाट बस व्यवसाय सुरु गरेका करनलाई पनि गाडीको बैंक किस्ताले नै बढी सताएको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख दोस्रो सातादेखि धारामा दिनहुँ २–३ घण्टा पानी

अहिले लकडाउनले गर्दा करनको आर्थिक अवस्था मात्र कमजोर हैन कि बैकको किस्ता तिर्नै समस्या भएको छ। बस चल्दा कुनै दिन आउँदा यात्रु हुन्छन् भने कुनै दिन बस जाँदा मात्रै यात्रु हुने गरेको करनले बताए। गाडी गुडाउदा सामान्य तेल खर्च पनि उठाउन निकै समस्या हुने गरेको उनले सुनाए।

सरकारले यातायात क्षेत्रमा गरिएको भाडा वृद्धिले पनि आफ्नो लगानी आउने अवस्था नभएको यातायात व्यवसायीकहरुको तर्क छ। कोरोना कहरअघि दोहोरो तर्फबाट यात्रु पाएपछि एक पटक तिीस चालिस हजारसम्म मुनाफा आउने गरेको भए पनि कोरोना कहर पनि खोलिएको यातायात क्षेत्रमा मुनाफाको साटो घाटा मात्रै हुने गरेको व्यवसायीको भनाई छ।