चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी

चितवन। कोरोना भाइरसको महामारीका कारण बन्द भएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती वनहरुमा ६ महिनापछि हात्ती सफारी सञ्चालनमा आएको छ।

पर्यटकहरु हात्ती, जीप तथा डुंगामा चढेर निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घम्न थालेका छन्। निकुञ्जभित्र पाइने दुर्लभ एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायतका वन्यजन्तुहरुले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यहाँ आउने ९० प्रतिशत पर्यटक हात्तीका गतिविधिमा सहभागी हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन्। वनभित्रका मचानहरु पर्यटकका लागि खुल्ला गरिएका छन्। जीप सफारी गर्ने सडकको मर्मत भइरहेको छ।

सौराहामा पर्यटकको चाप बढ्न थालेपछि निकुञ्ज पनि पर्यटनका लागि खुल्ला गर्ने तयारी गरिएको छ। क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले असोज १ गतेदेखि होटलहरु सञ्चालनमा आएपनि पर्यटक फाट्ट–फुट्टमात्रै आएको बताए।

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु

पर्यटहरुका लागि २० देखि ३० प्रतिशतसम्म छुटको प्याकेज मिलाइएको छ। पर्यटकहरुलाई बस्ने, खाने, घुम्ने सबै गतिविधिहरुका लागि छुट दिइएको हो। सौराहाका ५० प्रतिशत होटल अहिले सञ्चालनमा आइसकेका छन्।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले करिब ४ दर्जन निजी हात्ती पर्यटकको स्वागतका लागि तयारी अवस्थामा राखिएको बताए।