लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?

एजेन्सी। बलिउडको लागुऔषध मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबीले) शनिबार दीपिका पादुकोणसँग करीब साढे ५ घण्टासम्म सोधपुछ गरेको छ। सवाल जवाफका क्रममा दीपिका तीन पटकसम्म रोएको भारतीय मिडियाहरुले जनाएका छन्। एनसीबीले लागुऔषधका गिरोहहरुबारे पत्ता लगाउन शनिबार दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपूरको बयान लिएको होl

ड्रग्स मुद्दामा जोडिएकी अर्की अभिनेत्री रकुल प्रितको बयान शुक्रबार नै लिइसकिएको छ। बलिउडमा भएको ड्रग्स कनेक्सनको बारेमा भइरहेको अनुसन्धानका क्रममा यी अभिनेत्रीहरुको बयान लिइएको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले जनाएको छ। इण्डिया टुडेको रिपोर्टअनुसार दीपिकाको आँखामा आँसु देखेर एनसीबीका अधिकारीहरुले “इमोशनल कार्ड” खेल्नुभन्दा सबै कुरा सत्य तथ्य बताउँदा ठीक हुने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने

बयानका क्रममा अभिनेत्री सारा अलि खान र दीपिका पादुकोणले आफूले ड्रग्सको अर्डर गरेको स्वीकार गरेकाे तर प्रयोग भने नगरेको दावी पनि गरेको बताइएको छ।

दीपिका पादुकोणले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग व्हाट्स-एपमा आफूले ड्रग्स च्याट गरेको तर सेवन भने नगरेको बताइन्l उक्त च्याटमा “माल”, “वीड”, “ह्याश”, आदि शब्द प्रयोग भएको एनसीबीले जनाएको छ।

उक्त छानबिनमा अरु जानकारीका लागि दीपिका र उनको म्यानेजर करिश्मा प्रकाशको मोबाइल पनि एनसीबीले आफ्नो कब्जामा लिएको छl यसैगरी जया साह र रकुल प्रितको पनि मोबाइल एनसीबीले जफत गरेको छl

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण खोज्ने क्रममा ड्रग्सको विषय आइपुगेको हो। उनको मृत्युको कारण अनुसन्धान गर्ने क्रममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान लिँदा अन्य बलिउड कलकारको नाम पनि जोडिएको हो।