सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि


डडेल्धुरा।
सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण भेटिएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जना तथा कञ्चनपुरको भीमदत्त नगरपालिका का ७ जना र शुक्लाफाँटा नगरपालिकाका १ जनामा काेरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उता जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ५३ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए।

प्रयोगशाला इन्चार्ज खड्काका अनुसार जिल्लाको छविस पाथिभेरा गाउँपालिकाका ५ जना, बुगल नगरपालिकाका २ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ३ जना र केदारस्यू गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष र मङ्गलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप