प्रदेशमा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो 

धनुषा।  प्रदेश २ सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौँ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ। प्रदेश निजामति सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको छ।

त्यसैगरी बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुवै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ।