पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने

दिपक महरा, बैतडी। बैतडीको पाटन नगरपालिकाले कोरोना जोखिम नियन्त्रणका नाममा गरेको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने भएको छ। असार १७ गते नगर सभा सदस्य भिम भट्टको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले यही असोज ९ गते ५३ लाख १५ हजार ७ सय २१ रुपैयाँ अनियमितता गरेको निस्कर्ष निकाल्दै २२ पृष्ठ लामो प्रतिवेदन सार्बजनिक गरेको थियो।

सोही प्रतिवेदनको आधारमा छानबिन गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोली आज पाटन नगरपालिकामा आएर प्रतिवेदन सहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरण तथा सवारी साधन खर्चको विवरण सहितको फाइल लगेको आयोगका कञ्चनपुर कार्यालयका प्रवक्ता हरिश्चन्द्र जोशीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पाल्पामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

“छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाका आधारमा सबै कागजात लगिएको छ”, उनले भने, “पछि स्थलगत अनुसन्धान पनि हुन्छ।”

छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो।