विवादपछि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

काठमाडौँ। विवाद भएपछि यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै विवाद र अहसज परिस्थिति सिर्जना भएको भन्दै उक्त सम्मान रद्द गर्ने निर्णय गरिएको जनाएको छ।

सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेका कारण असहज परिस्थितिमा सम्मान र पुरस्कारको घोषणा प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जारी गरेको विज्ञप्तिमा सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तकमा पर्न गएको ठेसप्रति क्षमायाचना गरिएको छ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार तथा २०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष क्रमशः सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा गरेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

उप्रेतीले यौन उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए। प्रश्रितले पनि विवादमा ल्याउन खोजिएको भन्दै तत्कालका लागि पुरस्कार नलिने बताएपछि विवाद भएको हो।