आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी

एजेन्सी। रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटमा सुपर ओभरमा विजयी भएको छ।

युएईको दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो।

बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनायो। स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। बैंगलोरले बिना विकेट ११ रन बनायो। सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय पारी खेले। यस्तै केइरन पोलार्डले अविजित ६० रन बनाए। हार्दिक पण्डयाले १४ र क्विनटन डी ककले १४ रन बनाए।

अन्य सम्बन्धित समाचार:  अध्यादेश फेल गर्ने हिम्मत छ कसैको?: प्रधानमन्त्री ओली

बलिङतर्फ बैंगलोरका इशुरु उडानाले २ तथा एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले एक एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। उसका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय पारी खेले। डी भिलियर्सले अविजित ५५, पाडीक्कलले ५४ तथा फिन्चले ५२ रन बनाए। शिबम डुबे २७ रनमा अविजित रहे।

बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए। बैंगलोरले ३ खेलमा ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

मुम्बईले दोस्रो हारसँगै ३ खेलमा २ अंक जोडेको छ।