काठमाडौं। नेपाली कांग्रेसभित्र किचलो बढ्दै गएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले पार्टी सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएको छ।
असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अघि नै उक्त समूहले अल्टिमेटम दिएको हो।
माग सुनवाई नगरे विरोधका कार्यक्रम अघि बढाउने पौडेल समूहले चेतावनी दिएको छ। विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायत मुद्दा पौडल खेमाले उठाउँदै आएको छ।
सभापति देउवाले भने ती मागबारे कुनै सुनुवाई गरेका छैनन्। पार्टीका महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गर्दै ज्ञापनपत्र पार्टी कार्यालय सानेपामा दर्ता गराएका छन्।
सभापति देउवाले विधान विपरित २८ विभाग बढाएर ४८ पुर्याएको सो ज्ञापनपत्रमा उल्लेख छ।