बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोरोना स‌ंक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज–७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर–१० का ५३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी हुन्। उनलाई उच्च रक्तचापको समस्या थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ ३१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको मंगलबार बिहान मृत्यु भएको हो।

यस्तै कोहलपुरका ५३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो। उनी मधुमेहका रोगी थिए। उनलाई असोज ४ गते अस्पताल भर्ना गरिएको थियो। ती पुरुषमा असोज ६ गते कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु: प्रधानमन्त्री ओली