काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म कोरोनाबाट १० लाख ५५५ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार नाघेको छ। कुल संक्रमितमध्ये २ करोड ३० लाखभन्दा बढी निको भएका छन्।
विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा कोरोनाबाट २ लाख ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७१ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ।