ताप्लेजुङमा व्यवसायिक रुपमा बट्टाई चरा पालन


सन्तोष पुर्कुटी, ताप्लेजुङ। 

पछिल्लो समय बट्टाई चराको मासु र अण्डाको व्यापार हुन थाले पछि हिमाली जिल्ला ताप्लेजुङमा समेत यसको व्यवसायिक पालन सुरु भएको छ। थोरै लगानीमा व्यवसायिक रुपमा बट्टाई चरा पाल्न सकिने र यसबाट धेरै प्रतिफल लिन सकिने भएकाले यसको व्यवसायिक पालन तर्फ किसान आकर्षित हुन थालेका छन्। 

सदरमुकाम फुङलिङ लगायतका स्थानीयले सानो लगानीबाट घरैमा बट्टाई चरा पाल्न सुरु गरि यसको मासु र अण्डाको व्यापार गर्न थालेका छन्। ‘सानो लगानीबाटै बट्टाईको व्यवसायिक पालन सुरु गर्न सकिने रहेछ, पछिल्लो समयमा सबैले यसको मासु र अण्डा रुचाउने गरेका छन्, बजारको अभाव छैन, बरु माग धान्न मुस्किल हुने रहेछ’–केही महिना अघि देखि बट्टाई पाल्न सुरु गरेका फुङलिङका सुवास घिसिङले भने।

अन्य सम्बन्धित समाचार:  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु

उनका अनुसार एक महिनामा नै चल्ला हुर्केर बेच्ने अवस्थामा पुग्छ। यस्तै एक महिनाको अवधि कटे पछि अण्डा समेत दिन सुरु गर्छ। अहिले बजारमा बट्टाई प्रति गोटा २ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको उनले बताए।

विशेष गरि होटलमा बढि बिक्री हुनेभएकाले यसको बजारीकरणमा समेत समस्या नभएको घिसिङको भनाई छ। बट्टाईको चल्ला भने धरान लगायतका ठाउँबाट ल्याउने गरिएको छ। सुरु सुरुमा चल्ला नै खरिद गरेर हुर्काइएको र अब भने स्थानीय स्तरमा नै उत्पादन गर्ने तयारी रहेको सुवास घिसिङले बताए।

बट्टाई चराको अण्डालाई चल्ला निकाल्ने क्रममा रहेको कुखुराको बासस्थानमा मिलाएर राखे कुखुराले समेत चल्ला निकाल्न सक्ने घिसिङको भनाई छ। पछिल्लो समयमा आफ्नै प्रयोजन र बिक्री वितरणका लागि यहाँका प्रायले बट्टाई चरा पाल्न थालेका छन्।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

स्वास्थ्यका लागि बट्टाईको मासु र अण्डा फाइदाजनक हुने भन्दै स्थानीयले खोजी खोजी खाने गरेको बट्टाई पाल्नेहरू बताउँछन्। 
फेजिया नीडि परिवार भित्र पर्ने बट्टाई चराको तौल बढिमा २ देखि ३ सय ग्रामको सम्म हुने गर्छ। पछिल्लो समयमा यसको मासु र अण्डाको माग बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।