तातोपानी नाका असोज १८ बाट खुल्दै

काठमाडाै‌।

पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १८ गतेबाट खुल्ने भएको छ। आज दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १८ गतेबाट खोल्ने सहमति भएको हो। नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो।  नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरू आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, शसस्त्र प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरू छलफलमा सहभागि भएका थिए। चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने भएको छ भने नेपालतर्फका मजदुर तथा चालकले  ती सामान लोड गरेर ल्याउने सहमति भएको छ।

जसका लागि नेपालका तर्फबाट चालक र मजदुर गरी २८ जनाको टोली पीसीआर गरेर तयारी अवस्थामा रहेका छन्। तर चिनियाँ पक्षले भने थप  २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको प्रमुख खत्रीले बताए। खत्रीका अनुसार यसअघि जाँच गरिएका सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। नाकामा खटिने चालक र मजदुरको ५र ५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ।

छलफलका क्रममा नेपालले चीनतर्फको कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न  अनुरोध गरेको छ  भने चिनियाँ पक्षले यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको पनि प्रमुख खत्रीले जानकारी दिए।

तिब्बतको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अवरुद्ध भएको भन्दै एक महिना भन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन। चिनियां राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  अझै पनि राष्ट्रपति कार्यालय पुगेन संसद बैठक बोलाउने निर्णय