निर्मला हत्या प्रकरण : निलम्बित प्रहरीलाई सेवामा फर्काउने तयारी

काठमाडौं। प्रहरी प्रधान कार्यालयले निर्मला पन्त  हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउन तयारी थालेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयले निलम्बन फुकुवा गर्ने तयारी थालेको हो।

यसअघि नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली गर्न नपाउने व्यवस्था थियो।

अहिले संशोधनपछि अन्तिम किनारा भन्ने शब्द हटाइएको छ। गृह मन्त्रालयले भदौ ३१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो।

यस्तै प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए। उनीहरुमध्ये डिएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

डिएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गर्ने तयारी गरेको छ। सई धामी र जवान साउदको हकमा भने प्रहरी प्रधान कार्यालयले नै निलम्बन फुकुवा गर्नेछ।

बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टको हकमा भने मन्त्रिपरिषद्बाटै निर्णय गरिनेछ।