सप्तरीका कोरोना सङ्क्रमितको धरान अस्पतालमा मृत्यु

सप्तरी। सप्तरीका थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेका छन्। मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो।

अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए।

बालकैदेखि मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो। गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो।

खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्षले नगद सहयाेग गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले आज कोरोना खोप लगाउने

उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।