सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ

भक्तपुर। कमलविनायक बसपार्कबाट सूर्यविनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटिदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय बिमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्।

उक्त परिमाणको नगद लुटेर फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।