मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी सिफारिस

काठमाडौं। मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेकाे छ। यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए। ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ। राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ। पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले आफ्नो चुनावी क्षेत्रमा गरे चार पुलको उद्घाटन