भारतमा दुर्घटनामा आमाबाबु गुमाएका दुई बालककाे बिचल्ली

दीपक महरा,बैतडी। 

गत वर्ष भदाैमा भारतमा भएकाे ग्यास सिलिन्डर विष्फोटमा आमाबाबु गुमाएका बैतडीका दुई बालकहरुको बिचल्ली भएको छ। पाटन नगरपालिका ५ बसन्तपुरका स्थायी बासिन्दा प्रदीप लुहार, उनकी कान्छी श्रीमती र कान्छी श्रीमतिपट्टिका एक छाेराको मृत्यु भयाे। सँगै लगेका अर्का छाेरा निरज घाइते भए। घरमा छाेडेका जेठा छाेरा सुरज (जेठी श्रीमतीपट्टिका)  भने सकुशल रहे।

प्रदिपले जेठी श्रीमतिकाे मृत्यु भएपछि कान्छी श्रीमती बिहे गरेकाे र दुवैकाे दुर्घटनामा मृत्यु भएपछि विष्फोटमा घाइते भएर निको भएका र नेपालमै छाेडिएका दुई बालककाे सुरज र निरजकै लालनपालनमा समस्या भएकाे हाे।

घटनामा घाइते भएका निरजकाे पुरै शरीर जलेको कारण अहिले पनि उनको स्वास्थ्य अवस्था ठिक भएको छैन। उनीहरु अहिले ठुलाबुबा किसनको शरणमा रहेका छन्। आफ्नाे पनि आर्थिक अवस्था कमजोर हुँदा उनीहरूलाई लालनपालन र शिक्षादीक्षा दिन निकै समस्या भइरहेको किसनले सुनाए। “आफ्नै २ छोरा छन्, यिनीहरु पाल्ने जिम्मा पनि मेरै काँधमा छ, भएको सबै पैसा पनि तीनै जनाको उपचारमा सकियो, बैंकको ऋण तिर्न बाँकी छ”, उनले भने।

अन्य सम्बन्धित समाचार:  ५६ वर्ष अगाडिको मुद्दामा ७० वर्षीय वृद्ध जेल

सुरज अहिले कक्षा ६ मा पढिरहेका छन् भने निरज कक्षा ४ मा। उनीहरु दुवैजना स्थानीय लक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत छन्। “यिनीहरूलाई लाउने लुगा र पेटभरि खान समेत दिन सकिएको छैन”, “ठूलोबुबा किसनले दुखेसो पोखे, गरिब दिनदुःखीको दिन आएन हजुर।” भारतमै राेजगारी गरिहेका किसन यी बालकहरुकाे जिम्मेवारी आइपरेपछि स्वदेश फर्केका हुन्।