काठमाडाै। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे तथा दशैँको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ।