बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ललितपुर। बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसला अनुसार ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार पक्राउ गरेको हाे। बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजाय ठहर भएलगतै उनी फरार रहेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घरबाट पक्राउ गरेको हो। उनलाई कैद तथा जरिवाना असुलीतर्फ आवश्यक कारबाहीको लागि ललितपुर जिल्ला अदालत पठाइएको परिसरले जनाएको छ।