डा. गोविन्द केसीलाई अनशन तोड्न सरकारकाे आग्रह

काठमाडौं। सरकारले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर १८ दिनदेखि १९ औं अनशनमा बसेका डा. केसीलाई अहिले अनशन बस्ने समय नभएको भन्दै अनशन ताेड्न आग्रह गरेको हो।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काेराेना महामारीबाट आम नागरिकलाई जोगाउनु पर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको ज्ञवालीकाे तर्क थियाे।

ज्ञवालीले डा. केसीका धेरै माग पूरा भएको दाबी गर्दै भने, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र? पक्कै पनि होइन।’

केही विषय बाँकी रहेछ भने पनि छलफल गर्न सकिने भन्दै ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गर्दै भने, ‘मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ। अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडिऔं। जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसदः मुख्य सचेतक भट्टराई

सरकारलाई दबाब दिइरहनु जरुरी छैन भन्दै ज्ञवालीले भने, ‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं। ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ। सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि शुरू गरिसकेकाे छ। यसमा थप दबाव दिनु जरूरी छैन।’ पीसीआर परीक्षण बढाउनु पर्ने माग सम्बोधन भइसकेको पनि उनले बताए।