काठमाडौं। त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जोशीलाई कोरोना लागेपछि बल्खुस्थित त्रिवि कार्यालय बन्द भएको छ। जोशी कोरोनाबाट संक्रमित भएपछि त्रिवि कार्यालय बिहीबार र शुक्रबार बन्द गरिएको हो।
अब आइतबारदेखि मात्र खुल्ने कार्यालयले सूचना निकालेको छ। जोशी होम आइसोलेसनमा बसेका छन्।
विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ गते भएको बैठकमा जोशी सहभागी थिए। उक्त बैठकमै सहभागी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना देखिएको थियो।
परीक्षा नियन्त्रण कार्यालयले शाखा, महाशाखा र गोप्य शाखाका कर्मचारी पनि होम क्वारेन्टिनमा बसेको जनाएको छ।