प्रदेश २ मा महिला हिंसा र बलात्कार विरुद्ध अभियान सुरु

बटुकनाथ झा, जनकपुरधाम। मुलुकमा बढ्दो महिला हिंसा र बलात्कार विरुद्ध अभियान सुरु भएको छ। “मौनता तोडौँ बलात्कारको,  लैङ्गिक  हिंसा विरुद्ध राष्ट्रिय अभियानमा  सहभागी होऔँ” भन्ने नाराका साथ शुक्रबार  जनकपुरधामको जनक चोकमा  दुई घण्टा ब्यानर, पम्पलेट सहित  अभियन्ता सडकमा उभिएका  थिए। 

उनीहरूले जिल्लाका विभिन्न नगरपालिकामा सचेतना कार्यक्रम सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिनुको साथै जनप्रतिनिधिलाई बलात्कार जस्तो घटनालाई समाजमा  नमिलाउन आग्रह सहितको अपिल पत्र बुझाएका थिए।

अभियानमा  विभिन्न संघसंस्था, मानव अधिकारकर्मीको  सहभागिता रहेको थियो। पछिल्लो समय जनप्रतिनिधि नै बलात्कार तथा हिंसामा उत्रिँदा एकातिर महिलाहरू असुरक्षित हुनुको साथै अर्कोतिर बलात्कारी उम्कने चलखेल भइरहेको भन्दै सो विरुद्ध आफूहरू लागेको सहभागीहरूले बताए

प्रदेश २ को आठ वटै जिल्लाहरूमा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा  दर्ता भएका छन्। नेपाल प्रहरीको  गत चैतदेखि  भदौसम्मको तथ्याङ्कले  लकडाउनको अवधिमा  देशभर बलात्कारका १हजार २ सय २१ वटा घटना भएको छ।  

एक तथ्याङ्क अनुसार २०७७ वैशाखदेखि भदौसम्म  अभिलेख भएका  ३ सय १९ वटा  बलात्कारका  घटनाहरू मध्ये ७५ प्रतिशत  २ वर्ष देखि १८ वर्ष मुनिका बालबालिका रहेका छन्। बलात्कारका घटनामा  ९० प्रतिशत परिचित व्यक्ति नै सामेल रहेको देखिएको छ।

अन्य सम्बन्धित समाचार:  कैद तोकिएर फरार व्यक्ति पक्राउ