सुदूरपश्चिमका तीन पहाडी जिल्लामा हवाई सेवा परीक्षण उडान हुने

दिपक महरा, बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालनको तयारी भएको छ। धनगढीलाई आधार बनाएर बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी भएको हो। हवाई सेवा सञ्चालन गर्नका लागि शनिबार परीक्षण उडानको तयारी भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बूढ्थापाले जानकारी दिए।

समिट एयरले भोलि धनगढीबाट बैतडी, बझाङ र डोटीमा परीक्षण उडान गर्ने भएको उनले बताए। समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने बताइएको छ।

अहिले धनगढी–बाजुरा चार्टर्ड उडान भइरहेको छ। बैतडी, बझाङ , डोटी जिल्लामा पनि विमानस्थलको निर्माण सकिएकाले परीक्षण उडान हुने उनले बताए। त्यसपछि नियमित उडानका लागि तयारी थालिने छ।

परीक्षण उडान सफल भए विमान कम्पनीले धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न आह्वान गरिने प्रमुख थापाले बताए। विमानस्थल सञ्चालन गर्न ठिक छ भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गरिने उनले बताए।

अन्य सम्बन्धित समाचार:  अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित