आईपीएल: मुम्बईकाे दोस्रो जित, पञ्जाब ४८ रनले पराजित

एजेन्सी। मुम्बई इन्डियन्सले यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ। अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए। क्रिश्नापा गोतमले अविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे।

बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटिन्सनले समान २-२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कायरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३० रन बनाए। त्यस्तै इशान किशनले २८ तथा सूर्यकुमार यादवले १० रन बनाए।

अन्य सम्बन्धित समाचार:  सहिद स्मारक बी डिभिजन लिगः आरसिटीको साँघुरो जीत

बलिङतर्फ पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए।

जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो।