म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए।
भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो। सडक खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।
ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उनले बताए। यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो। मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पुर्याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताए।
आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकासँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उनले बताए।