बाँके। हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा. हरि सापकोटा। तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उनी सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिएका थिए। उनको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि कर्णालीवासी स्तब्ध छन्।
सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, उनीबाट सेवा लिएका बिरामी तथा आफन्त भरपर्दाे डाक्टर गुमाउनुपर्दा पीडामा छन्। डा. सापकोटा कार्यरत प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले उनको निधनबाट सिङ्गो कर्णाली प्रदेशलाई अपुरणीय क्षति पुगेको बताए। “सिनियर चिकित्सक बस्न नरुचाउने समयमा उनले सुर्खेतमै बसेर लामो समय सेवा गरे।
डा. खड्काले भने, “उहाँजस्तो अनुभवी चिकित्सक पाउन कर्णालीले धेरै वर्ष पर्खनुपर्छ, उहाँको निधनबाट प्रदेश अस्पताललाई मात्र नभई कर्णाली र पाँच नम्बर प्रदेशलाई ठूलो क्षति पुगेको छ।” सापकोटा प्रदेश अस्पतालमा ११ औँ तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए। अस्पतालबाट बचेको समय वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपयोग गरेका उनलाई बिरामीको उपचार गर्दागर्दै कोरोना सङ्क्रमण देखिएको थियो।
भदौ ३० गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरेको थियो। बाँकेको खजुरा निवासी ५९ वर्षीय सापकोटा मधुमेह र उच्च रक्तचापका दीर्घरागी थिए। उनका एक छोरा र एक छोरी छन्।
असोज १ गतदेखि भेरी अस्पतालमा उपचाररत सापकोटालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप सुविधासम्पन्न अस्पताल लैजाने प्रयास गरिएको थियो तर अक्सिजन स्याचुरेसन निकै कम हुँदा बाटोमै जोखिम हुनसक्ने हुँदा भेरी अस्पतालमै कृत्रिम श्वासप्रश्वास प्रणालीबाट अक्सिजन दिइएको थियो।
कर्णाली प्रदेश सरकारले सापकोटाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उचित सम्मान गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड विपद् व्यवस्थापन समितिको बैठकले यससम्बन्धी आवश्यक प्रस्ताव लैजान सिफारिस गर्ने निर्णय गरेको हो। सामाजिक विकास मन्त्रालयले पनि शोक वक्तव्यमार्फत डा. सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले सापकोटालाई राज्यले तत्काल स्वास्थ्य शहीद घोषणा गर्नुपर्ने, प्रदेशमा बन्ने सरुवा रोग अस्पतालको नामकरण उनकै नामबाट गरिनुपर्ने बताए। “कोभिड १९ विरुद्ध लड्दालड्दै हामीले विशेषज्ञ चिकित्सक गुमायौँ, अहिले पनि स्वास्थ्यकर्मी जोखिममा रहेर काम गरिरहेको अवस्था छ”, उनले भने, “सरकारले कोभिडविरुद्धको अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्च मनोबल बढाउन आवश्यक सेवा–सुविधा वृद्धि गर्नुपर्छ।”
डा. सापकोटा कोरोनाका कारण ज्यान गुमाउने पहिलो चिकित्सक हुन्।