पूर्वराष्ट्रपति यादवले डा गोविन्द केसीलाई भेट्दै भने, सरकारले माग पूरा गर्नुपर्छ

काठमाडौं। विगत १९ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको स्वाथ्य अवस्थाको बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादवले जानकारी लिएका छन्।

डा केसीको जानकारी लिन पूर्वराष्ट्रपति डा यादव शुक्रबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर १९ दिनदेखि अनशनरत डा केसीको माग उचित भएकाले सरकारले पूरा गर्नुपर्ने यादवले बताए।

विश्व अहिंसा दिवसको दिन डा केसीलाई भेट्दै पूर्वराष्ट्रपति यादवले केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको बताए।

डा केसी देशलाई चाहिने व्यक्ति भएको यादवको भनाइ थियो। पूर्वराष्ट्रपति यादवले डा केसीका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली

केसीको अनशनमा आफूले ऐक्यवद्धता जनाउँदै आएको यादवले बताए।

डा केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको भन्दै पूर्वराष्ट्रपति डा यादवले राष्ट्रको अमूल्य सम्पत्ति केसीलाई बचाउन आग्रह गरेका छन्।