कृष्णबहादुर महरालाई नेकपाको स्थायी समिति सदस्य बनाउने तयारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व सभाुमख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ।

सभामुखबाट राजीनामा दिएको झण्डै एक वर्षपछि महरालाई नेकपाले सक्रिय राजनीतिमा फर्काउने योजना बनाएको छ।

नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ। हाल ४४ जना नेकपाका स्थायी समिति सदस्य छन्।

महरालाई स्थायी समितिमा ल्याउन नेकपा भित्र गृह कार्य सुरु भएको एक स्थायी समिति सदस्यले बताए। नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो।

तीनै जनाबीच महरालाई स्थायी समितिमा ल्याउनेबारे छलफल भएको छ। सभामुख हुनुअघि पनि महरा तत्कालीन माओवादी केन्द्रको स्थायी समिति सदस्य थिए।

अन्य सम्बन्धित समाचार:  ओलीले धर्मेन्द्रतिर हेर्दै भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष बसियो

विसं २०७४ मंसिर २१ मा प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नं २ बाट निर्वाचित महरा त्यही वर्ष फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए।

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

महरा १३५ दिन जेल बसेर गत वर्ष फागुन ५ गते जेलमुक्त भएका थिए।

महराको सांसद पद गत वर्ष फागुन ६ गते निलम्बन फुकुवा भएपछि उनी सक्रिय राजनीतिमा आउन खाजेका हुन्।