प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङको भालुवाङ बनाउन प्रस्ताव पेश

बुटवल। प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ तथा नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गरेको थियो।

दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र, दाङकै गढवा गाउँपालिकाको केही भाग तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका केही स्थानलाई समेटेर राजधानी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको हो।

उक्त प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुनेछ।

शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच प्रदेशको नाम र स्थानबारे सहमती भएको थियो।