काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७ सय २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्मकै धेरै ३ हजार ३ सय ७ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।