बुटवल। प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा त्यसको विरुद्ध आन्दोलन शुरु भएको छ।
बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क, ट्राफिक चोकलगायत स्थानमा स्थानीय बासिन्दाले टायर बालेर प्रदर्शन गरेका छन्।
बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ। प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीन गाडीमा तोडफोड गरेको छ।
सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे चढेको लु १ झ ४४५ नं को गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी तथा लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ।
आन्दोलनले उग्र रुप लिने स्थिति उत्पन्न भएपछि अहिले बुटवलमा सुरक्षा अवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ।