ललितपुर। ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अन्तर्गत पहिलो तला निर्माणको काम सम्पन्न भएको छ। विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो। मन्दिर पुनःनिर्माण ३ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको थियो।
लगभग एक हजार ५०० वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करिब ४० प्रतिशत सम्पन्न भएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नुपर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी गराए।
मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको उनले बताए। उनले भने, “यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाह्राे काम भने समाप्त हुनै लागेको छ।”
निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर रु एक करोड ४० लाख बराबरको काम गरिसकेको शाक्यको भनाइ छ। “मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छाैँ”, शाक्यले भने।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठूलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन्। यो काठमाडाैं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिए पनि कतैबाट आधिकारि चासो नदेखाइए पछि हाल समितिले काम अघि बढाएको हो।