काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि लकडाउन गर्ने निर्णय गरेको थियो। यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो।
अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि लकडाउन गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लकडाउन गर्ने योजना नभएको स्पष्ट पारे। सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ।