प्रधानमन्त्रीज्यूका कुरा बडा बडा ! तर जता पनि खतिवडा?

Prabhu Bank

 

Saftey Pads

सरगम भट्टराई। लोकले पत्याएका, गुटले पछ्याएका अनि त्यसैको बलमा सत्ता अँठ्याएका हाम्रा सम्माननीय प्रधानमन्त्रीले जता गए पनि बोल्ने वाक्य हो: “अब देशमा जे हुन्छ, सबै राम्रोका लागि नै हुन्छ। यत्रो वर्ष म लडेँ जीवनको उत्तरार्धमा मैले गल्ति गर्दिनँ।”

‘भ्रष्टाचारीको अनुहार नहेर्ने, नराम्रो काम गर्नेहरुको अनुगमन गर्ने, योग्यता प्रणालीलाई हेरेर मात्र काम गर्ने, देशमा कोही भोकले नमर्ने, अब देशमैरोजगारी सिर्जना गर्ने’ यस्तै यस्तै लम्बेतान वाचाहरु जप्दै र थप्दै प्रधानमन्त्रीत्वको आधा समय व्यतित गरिसकेका छन्।

विषय र प्रसंगले अन्य अर्थ नलागोस्: प्रधानमन्त्रीको छुच्चो मुखले पात पातमा जनता र जनमतप्रति घात गरिरहेका छन्। सत्ता समीकरण रक्षा गर्न बामदेवलाई चोरबाटो संसदमा छिराउने तर सच्चा राष्ट्रका सेवक कुलमानलाई पदबाट घर फिराउने अलोकप्रिय निर्णयपछि बड़ा बड़ा कुरा गर्ने प्रधानमन्त्रीले खतिवडालाई अमेरिका राजदूत बनाउने निर्णय गरेर फेरि एकपटक जग हँसाएका छन्।

डा. युवराज खतिवडाले अर्थमन्त्री भएर देशलाई के दिए? झट्ट हेर्दा केही गर्न खोजे पनि उनले देश र जनताको हितमा सिन्को भाँचेको देखिँदैन। उनले सम्हालेको अर्थ मन्त्रालयले कर बढाउने बाहेक अर्थतन्त्रको सबलीकरणमा खासै योगदान गरेकाे छैन। आर्थिक वृद्धिका सूचकांकहरुमा बढोत्तरी देखिए पनि त्यसलाई जनताको प्रत्यक्ष आर्थिक वृद्धिदरमा जोडिएको देख्न पाइएको छैन।

शाही कालमा योजना आयोगको सदस्य, शाही शासनपछि पनि योजना आयोगको सदस्य हुँदै योजना आयोगको उपाध्यक्ष, उपाध्यक्ष बहाल छँदै राष्ट्रबैंकको गभर्नर अनि गभर्नरबाट अवकाससँगै योजना आयोगको उपाध्यक्ष भएको व्यक्तिलाई प्रधानमन्त्रीकै निगाहमा राष्ट्रियसभाको सदस्य त्यसपछि अर्थमन्त्री, राष्ट्रियसभाको कार्यकाल थपेर फेरि अर्थमन्त्रीमा पुनर्नियुक्त।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास

त्यति मात्र हो र?

अर्थमन्त्रीसँगै सञ्चारमन्त्रीको पनि जिम्मेवारी, सरकारका प्रवक्ता, राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि प्रधानमन्त्रीको मुख्य आर्थिकसल्लाहकार भई अर्थमन्त्रीकै काम पर्दा पछाडिबाट गर्दै गर्दा हुँदा हुँदै एकाएक अमेरिकाको राजदूतमा सिफारिश।

संघीय सरकारको अर्थ तथा सञ्चारमन्त्री भएको व्यक्ति सह-सचिव सरहको पदमा ९निर्णय गरी मन्त्री सरह गर्नु अर्कै कुरा हो० डिमोसन हुँदा हामीले जे माने पनि अमेरिकी अधिकारीहरुले उनलाई मान्ने भनेको सह-सचिव नै हो।

साँच्चै कार्यसम्पादनमा अब्बल ठानिएका, कानूनले बाधक नठानिएका प्रिय कर्मचारी कुलमान घिसिङलाई ज़िम्मेवारी थप्न अनकनाउनेले अर्थतन्त्रलाई झन् जटिल बनाएका खतिवडालाई एकपछि अर्को लाभको पद दिँदा जनताले के भन्छन् भन्ने चेतसम्म यिनीहरुलाई नभएकै होला त?

त्यसो त खतिवडाको ‘वेट’ बड़ा नै छ। अर्थशास्त्रका ज्ञाता पनि होलान्, तर जनताले बुझ्नेगरी के काम गरे खतिवडाले? जनताको दैनिक जीवन सहज हुनेगरी के गरे? विद्युतीय सवारीमा विश्वव्यापी कर छुटको ट्रेण्डलाई चुनौती दिँदै १० प्रतिशतबाट ४० प्रतिशत कर बढाएर उनी आलोचित भएको धेरै भएको छैन।

अब कुरा गरौँ सन्त डा. गोविन्द के.सी.को। डा. साहेब बिगत १८ औँ दिनदेखि आमरण अनसनमा छन्। उनको माग भनेको आफ्ना आसेपासेलाई मेडिकल कलेज खोल्न हैन, आफूलाई कुनै लाभको पदमा नियुक्ति गर भनेर होइन बरु उनको एक मात्र उद्देश्य भनेको स्वास्थ्य सेवा सुधारको हो। गुणस्तरीय स्वास्थ्यका लागि राज्यले अभिभावकीय भूमिका खेलोस् र दूरदराजका जनताका छोराछोरी पनि डाक्टर बन्न सकून् भन्ने हो।

तर समाजवादी सरकारले पटक पटक डा. के.सी. का मागलाई सम्बोधन गर्ने आश्वासन दिँदै अनसन तोडाइरहन्छन्। किनकि, कथित ठूला-बडाहरुकै लगानी छ निजी मेडिकल कलेजमा।

अन्य सम्बन्धित समाचार:  भारतीय सेनाध्यक्षलाई कात्तिक २० मा मानार्थ महारथीको दर्जा दिइने

प्रधानमन्त्री ओलीले न त डा. के.सी.का मागलाई ग़लत भनेर भन्न सक्छन्, न त उनका माग नै सम्बोधन गर्दछन्। समाजवादी सरकारका बटमलाइन हुनुपर्ने डा. के.सी.का मागमा सत्तासीन पार्टीका कार्यकर्ताले ‘बूढो मरोस् र आनन्द हुन्छ’ भनेर भाकल गरिरहेका छन्। सामाजिक सञ्जालमा उल्टो उनलाई कसैको राजनीतिक गोटी बनेको आरोप लगाइरहेका छन्।

जननिर्वाचित सरकार भएपछि जनताको मर्म अनुसार चल्न सक्नुपर्छ, जनताको हक़ हितमा कानुनहरु बन्नुपर्छ, सरकार शासक हैन सेवकको रुपमा प्रस्तुत हुनुपर्छ, तर सरकारले सत्याग्रहीलाई झूठो सावित गर्न खोजिरहेको छ।

प्रधानमन्त्री ओलीले आफ्नो त्यागको इतिहासलाई परित्याग गरेर विधिको निधिलाई समाधिमा पठाइरहने हो भने उनको नाम इतिहासमा एउटा गैरजिम्मेवार शासकको रुपमा दर्ज हुने कुरामा शंका नगरी रहन सकिन्न। जग हँसाउने कामबाट प्रधानमन्त्री मुक्त हुनुपर्छ।

कोरोनाको कहर र त्रासदीका बीचमा अहिलेसम्म ५१० बढीले ज्यान गुमाएका छन्। अब रोगले भन्दा भोकले मर्ने स्थिति बढिरहेको छ। नागरिकहरु भोकले मरिरहँदा पनि सरकार गफ गरेरै सुतिरहेको छ। सरकारलाई लागिरहेको होला- “यो देशमा सरकार सबैभन्दा ठिक चिज हो, सरकारइतरका सबै बेकामे र औचित्यहीन हुन्।”

सरकार नागरिकको अभिभावक हो। नागरिकहरु सरकारका सर्जक हुन्। सर्जककै अपमान गर्ने सरकार भयो भने त्यो देशले कहिल्यै उन्नति गर्न सक्दैन।

तर सधैँ आइतबार रहँदैन, घडीले सुई घुमाउनेछ, नयाँ बिहानी उदाउनेछ, त्यो बेला आफूबाहेक अरुलाई नालायक देख्नेलाई जनताले जवाफ दिनेछन्।

Maruti Cement