कविता: देश खोजिरहेको डाक्टर

 

आरपी गाउँले
हेल्लो सरकार !
तिमीलाई थाहा छ?
तिमी देश टुक्र्याउने गोटी चालिहेका बेला
म चिसो सडकमा एकमुठ्ठी सासले
जाँचिरहेको छु अभाव रोगीहरुको
देश बचाउने बलियो मुटु ,
र देश डाकिरहेछु जनताका लागि
सिटामोलका टुक्राको युद्धमा
परेड खेलिरहेछु तिम्रो गणतान्त्रिक
नयाँ नेपालका परिवर्तित सरकारसँग
भोकाहरुको निम्ति लडिरहेछु
रोगीहरुको खातिर बोलिरहेछु
देशको रित्तो सडकमा अपराधी बनेर!
सरकार!म डा. गोविन्द केसी !!
हो सरकार !
मलाई वचनका औषधीले बाँच्नु छैन
बरु हिजो मुटुका टुक्रा उछिट्याउने
हतियार सुरक्षित छन् भने
मध्य राती बागमती किनारमा लगी
आदेश देऊ गोली ठोक्न
तिम्रो अदेशमा सुरक्षाको दर्जा झुन्ड्याउनेहरुलाई
रित्तिन लागेको शरीरबाट दुईथोपा
रगतको मसी भए पुग्छ मेरा देशका जनतालाई
केसीको मृत्युको खबर
तिम्रो देशको सिँहदरबारका पर्खालमा कोर्न ।
हिजो फाटेका चप्पलको लोती गाँस्दै
कर्णाली बचाएँ
रुकुम, रोल्पा र मुगु गएर
ज्यान जोगाएँ देशको
हुम्ला, जुम्ला र कालिकोट गएर
जुनकिरीको उज्यालोमा
मृत्युशैय्यामा छटपटाएकाहरुलाई सास भरेँ
जसले तिमीलाई रगतको भोट दिएर
पठाएथे लोकतान्त्रिक नेपालको खाका कोर्न,
सरकार! भुल भयो,
जनता बचाउने खेलमा लागेँ
तिम्रा नाकमा पातलो सिँगान आउँदा
उपचारमा वैदेशिक आकाशबाट देश बिर्सिएका बेला
हैजाको महामारीले सिनोझैं
गन्हाइरहेका मान्छेको मुटु छाम्दै
देश खोजिरहेथेँ सुदूरका छाउनीहरुमा
स्लाइन पानीको अभावमा
भोको पेटले जनता बचाउँदा
अपराधी भएँ सरकार !
तिमीलाई थाहै होला!
तिम्रो तागतले खरानी बनाइएका अस्पताल
युद्धले अपाङ्ग बनेका गाउँमा
पाइताला खियाएर उपचार गर्दा
गल्ती भएछ महाराज !
सक्छौ भने टुँडिखेलमा गएर घोषणा गरिदेऊ
डा.गोबिन्द केसीलाई मारिदेऊ भनेर
अनि ठोक्न लाइदेऊ
मेरो वैचारिक लडाइँमा निसाना बनाएर
छोडदेउ ताता गोलीहरु
ए क्रूर मुकदर्शक साम्राज्यवादका लगौँटी हो
मलाई थाहा छ!
सडकमै देश मागेर मर्‍यो नन्दप्रसाद
सडकबाटै मर्दैछिन् गङ्गामाया
सडकबाट घोषणा गर्दैछ मृत्युको
डा.गोविन्द केसी
त्यतिबेला पनि
समाचार पत्रले मेरो मृत्युको
खबर छापेको ठाउँमा हेर्ने
हुने छैन फुर्सद तिमीमा
जसरी नन्दप्रसादले पाएन दाहसंस्कार
उसरी नै घोषणा गरिनेछ मेरो मृत्युको
र कैद गरिनेछ तिम्रो देशका हस्पिटलको
एउटा कुनामा बाकसभित्र
त्यतिबेला तिम्रा समाजवादका फोस्रा नाराहरुमा
धमिराले माटो  उठाइसकेको हुनेछ
बस्!
मेरो रगतले देशका भित्ताहरु पोतिएका बेला
झुक्किन सक्छौ सरकार!
स्थानीय चुनावको प्रचार भन्दै
त्यसैले हेल्लो सरकार !
मेरो आयु लम्बिनुपूर्वै
घोषणा गरिदेऊ बरु
फासी दिने/गोली ठोक्ने
म,
म यो देशको रोगी जनता बचाउँने
अपराधी हूँ डा.गोविन्द केसी
सडक ओछ्याएर खोजिरहेछु
मेरो देशको लोकतन्त्र !!
अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव समूहबीच वार्ता जारी