विरोध चर्केपछि बुटवलमा चार दिन निषेधाज्ञा

बुटवल। प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानमा चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

यहाँका विभिन्न संघ संगठनले आइतबार गर्न सक्ने विरोध प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासनले पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने गरी निषेधाज्ञा लगाएको हो।

शनिबार राति साढे ८ बजे सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि असोज २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधज्ञा जारी गरेको हो।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चले भन्यो–जलहरी नराख्नू

प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ। मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन पाइने छैन।