बुटवल। प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा आज बुटवलमा दुई दर्जन व्यवसायिक संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन गरिएकाे हाे।
बुटवललाई राजधानी कायम गर्न माग गर्दै भएको प्रदर्शनमा उद्योगी, व्यवसायी र सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेकाे छ। बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्ने वक्ताहरुले रुपन्देहीमा प्रदेश सरकारका पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जानेगरी कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको भन्दै आन्दोलन चर्कोउने चेतावनी दिए।
पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका छन्।