रौतहट हत्याकाण्डका फरार प्रतिवादी सहनी पक्राउ

रौतहट। रौतहट हत्याकाण्डका फरार प्रतिवादी बारा सिम्रौनगढ नगरपालिका-४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको छ। २०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका-४ स्थित शेख ईद्रिशको गोठघरमा विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट भएकाे थियाे।

उक्त विष्फोटमा १६ जना घाइते तथा ३ जनाको मृत्यु भएको थियाे भने घाइतेहरुलाई ट्र्याक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाएको घटनामा संलग्न रही फरार रहेका सहनीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले रौतहट बौधीमाई नगरपालिका-७ बड्की बंकुलबाट पक्राउ गरेको हो।

उक्त घटना हुँदा सहनी इँट्टाभट्टाको हेड मिस्त्री रहेको र मो.अफताब र मो.महताब आलमको निर्देशन बमोजिम उक्त घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टाभट्टाको भुङ्ग्रोमा हालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नयाँ सत्ता समीकरण: ओलीलाई बिदा गरि पार्टीबाटै प्रधानमन्त्री चुन्न प्रस्ताव