भक्तपुरमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

भक्तपुर। भक्तपुरमा लठ्ठिने औषधी खुवाएर एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेकाे आरोपमा दुई जनालाइ  प्रहरीले पक्राउ गरेकाे छ। शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका-१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले ती किशाेरीलाई बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले जगाती वृत्तको संरक्षणमा छिन्। घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको बताइएकाे छ।

अन्य सम्बन्धित समाचार:  ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयो