एजेन्सी। बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ। बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना काेरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले उल्लेख गरेका छन्।
गएको शुक्रबार मात्र ७ हजार १४३ जना संक्रमित भेटिएका थिए। गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन्। तर पनि स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ।
हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएकाे बताइएको छ। अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ। केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ।
लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले जनजीवनलाई पनि सामान्य बनाइएको थियो। तर पनि गएका केही हप्तादेखि ठूलो संख्यामा संक्रमितहरु देखिएका छन्। बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ। त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ।